१. भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
उत्तर: १०९ औँ (१८२ देशमा)
- ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२६ फेब्रुअरी १० मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ मा नेपालले यो वर्ष ३४ अङ्क प्राप्त गरेको छ।
- नेपालले गत वर्ष पनि ३४ अङ्क नै प्राप्त गरेको थियो।
- गत वर्षको तुलनामा अङ्क समान भए पनि नेपालको वरीयता भने खस्किएको छ।
- गत वर्ष १०७ औँ स्थान (१८० देश) मा रहेको नेपाल यस वर्ष १०९ औँ स्थान (१८२ देश) मा रहेको छ।
२. सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?
उत्तर: विसं २०८२ माघ २९
- सरकारले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले दिएको अधिकार प्रयोग गरी जङ्गली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधनको हानि नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लेखेट्न वा पक्रन सक्ने छ।
३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विसं २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो ?
उत्तर: सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)
- प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अनुसार कुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन सकेका छैनन्।
- यो मूल्याङ्कन आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुने छ।
- दोस्रो स्थानमा कोशी र तेस्रोमा बागमती प्रदेश रहेका छन् भने सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ।
- महानगरपालिकामध्ये विराटनगर पहिलो र स्थानीय तहमध्ये अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल साबित भएको छ।
४. अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो ?
उत्तर: सन् २०२६ फेब्रुअरी ५
- सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विज्ञहरूले आशङ्का व्यक्त गरेका छन्।
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताको अवधि विस्तार गर्न तयार रहेको जनाए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारमा सीमा राख्ने र चीनलाई वार्तामा समावेश गर्ने योजनाको सङ्केत गरेका छन्।
- न्यु स्टार्ट सम्झौताले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षक तथा १५५० आणविक हतियारमा सीमा लगाएको थियो।
५. आईसीसी टी–२० विश्वकप, २०२६ (दसौँ संस्करण) को आयोजना मिति कुन हो ?
उत्तर: सन् २०२६ फेब्रुअरी ७ – मार्च ८
- यस विश्वकपको आयोजक राष्ट्रहरू भारत र श्रीलङ्का हुन्।
- प्रतियोगितामा कुल २० सहभागी राष्ट्रहरू रहनेछन्।
- नेपाल टी–२० विश्वकपमा तेस्रो पटक (सन् २०१४, २०२४ र २०२६) सहभागी भएको हो।
६. नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ?
उत्तर: ६ अर्ब ९८ करोड २६ लाख रुपियाँ
- गत आवको पहिलो ६ महिनामा नेपालबाट ४ अर्ब ५७ करोड ३८ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो, जसको तुलनामा यस वर्ष ५२.६६ प्रतिशतको वृद्धि भएको छ।
- विभागको तथ्याङ्क अनुसार हालसम्म २२,४३९ जना विदेशी कामदारले नेपालमा श्रम इजाजत लिएका छन्।
- नेपालमा काम गर्ने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देश पठाउन पाउने व्यवस्था छ।
७. दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ?
उत्तर: बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)
- बीएनपीले कुल २९९ सिटमध्ये २०१ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ।
- यससँगै १५ वर्षपछि पुनः यो पार्टी सत्तामा फर्किन सफल भएको छ।
- निर्वाचन सन् २०२६ फेब्रुअरी १२ मा सम्पन्न भएको थियो।
८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
उत्तर: श्री ५ राजेन्द्र
९. करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ ?
उत्तर: तिलौराकोट, कपिलवस्तु (विसं २०८२ माघ)
- कपिलवस्तु सहरको तिलौराकोटमा फेला परेको यो अद्वितीय मन्दिरले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्धि र दक्षिण एसियाका प्राचीन बौद्ध तीर्थमार्गमा यसको महत्त्वलाई थप पुष्टि गर्ने छ।
- १०० बिगाहा क्षेत्रफल ओगटेको तिलौराकोटमा हाल करिब ३४ बिगाहा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ।
१०. फ्रान्सको राज्यक्रान्ति पछि त्यहाँको शासन सत्ता कसले सम्हालेका थिए ?
उत्तर: नेपोलियन बोनापार्ट
११. नेपालको तराई, भावर, दुन, भित्री मधेश टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
उत्तर: उष्ण मनसुनी हावापानी
१२. पञ्च महाभूत भन्नाले के–केलाई बुझाउँछ ?
उत्तर: पृथ्वी, जल, तेज, वायु र आकाश
१३. नेपालमा पहिलो पटक सालकसम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
उत्तर: विसं २०८२ माघ २६, माडी, चितवन
- बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन भएको हो।
- सम्मेलनमा सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता र चुनौतीबारे छलफल भएको थियो।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित सूचीमा राखेको छ।
- हाल सालक लोपोन्मुख अवस्थामा छ।
१४. सरकारले कुन प्रदेशबाट क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?
उत्तर: कर्णाली प्रदेश
१५. नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो ?
उत्तर: विसं २०८२ वैशाख २
१६. नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ?
उत्तर: विसं २०८१ चैत २
१७. एसियाली विकास बैङ्कको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन् ?
उत्तर: अर्थशास्त्री सोना श्रेष्ठ
- उहाँको नियुक्ति विसं २०८२ माघ २९ (सन् २०२६ फेब्रुअरी १२) मा भएको हो।
- उहाँले नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का हेर्ने गरी एडिबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुने छ।
- २३ वर्षदेखि एडिबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो।
१८. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
उत्तर: बेलायत
१९. सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
उत्तर: मछिन्द्र फुटबल क्लब (उपविजेता : एपीएफ क्लब)
- विसं २०८२ फागुन ४ मा सम्पन्न फाइनलमा मछिन्द्रले एपीएफलाई ३–१ गोल अन्तरले हराएको हो।
- मछिन्द्रले उपाधिसहित १५ लाख र एपीएफले ७ लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरे।
- प्रतियोगितामा पेमा तामाङ सर्वोत्कृष्ट खेलाडी र विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए।